लिपुलेकदेखि एससीओसम्म, के-के भए निर्णय ? परराष्ट्रले जारी गर्यो १५ बुँदे विज्ञप्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म ५ दिने चीनको भ्रमण पूरा गरेर बुधबार राति स्वदेश फर्किएका हुन् ।
भ्रमणले नेपालको भूराजनीतिक चासोलाई थप मजबुत पार्दै अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनुका साथै विभिन्न राष्ट्रका प्रमुखहरूसँग महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन र दिगो विकास हासिल गर्ने लगायतका विषयमा नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गरे । उनले एससीओमा नेपालको आकांक्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा पनि व्यक्त गरे ।
द्विपक्षीय भेटघाट र महत्वपूर्ण पहल
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग थियानजिनमा द्विपक्षीय वार्ता गरेका छन् । यस वार्तामा नेपालले लामो समयदेखि उठाउँदै आएको लिपुलेक नाकाबाट व्यापार गर्ने भारत र चीनबीचको समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न राष्ट्रपति सीलाई अनुरोध गरेका थिए । यसलाई नेपालको भूभाग र सार्वभौमिकताको रक्षाका लागि गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।
राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै उच्च-गुणस्तरीय बीआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत् नेपालको विकासमा चीनको सहयोग रहने कुरा दोहोर्याए । प्रधानमन्त्री ओलीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा नेपाल-रूस सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा व्यापार, लगानी, शिक्षा, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल गरे । प्रधानमन्त्रीले रूसी राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिएका छन् ।
यसका अतिरिक्त, प्रधानमन्त्रीले लाओस, माल्दिभ्स, भियतनाम र कम्बोडियाका राष्ट्र/सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरे । यी भेटघाटले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्न मद्दत पुगेको छ ।
थियानजिनमा एससीओ शिखर सम्मेलनमा सहभागिता पश्चात् प्रधानमन्त्री ओली भदौ १७ गते बेइजिङ प्रस्थान गरे । बेइजिङमा उनले चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेट गरी नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल गरेका थिए । भदौ १८ (सेप्टेम्बर ३) मा चीन सरकारद्वारा आयोजित ‘जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा विश्व फासिस्टवाद विरोधी युद्ध विजयको ८० औं वार्षिकोत्सव’ समारोहमा सहभागी भई सोही दिन स्वदेश फर्किए ।
पूरा हेर्नुहोस् परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस नोट :-
भ्रमण विवादरहित भने रहेन । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ लाई समर्थन गरेको दाबी गरिएपछि यसले नेपालमा भूराजनीतिक बहस छेड्यो । यद्यपि, परराष्ट्र सचिव अमृत राईले नेपालले चीनको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ लाई मात्र समर्थन गरेको र सुरक्षा रणनीतिमा समर्थन नगरेको स्पष्ट पारे । उनले ‘नेपाल सरकारको नीति जे छ, त्यही कायम हुन्छ’ भन्दै यस विषयमा थप स्पष्टता प्रदान गरे ।
भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्री पाण्डे र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा लगायत उच्च अधिकारीहरू सहभागी थिए । यद्यपि, चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग प्रत्यक्ष साक्षात्कार भने गरेनन् ।








