नाडामाथि भ्रम फैलाउने प्रयासप्रति आपत्ति, विशेष साधारण सभा तोकिएकै मितिमा हुने

काठमाडौं । हालै केही सञ्चारमाध्यमहरूमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सम्बन्धी आएका समाचारहरूप्रति नाडाले गम्भीर आपत्ति जनाएको छ ।

संस्थाले ती सामग्रीहरूलाई ‘अनर्गल, तथ्यविहीन र निराधार’ भन्दै खण्डन गर्दै आफ्नो सबै गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रिया अनुसार मात्रै अघि बढाइएको स्पष्ट पारेको छ ।

नाडाका अनुसार, दीर्घकालीन संस्थागत सुदृढीकरणको लक्ष्यसहित नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे केन्द्रीय कार्यसमितिको भाद्र ३ र ८ गते बसेका बैठकहरूले अन्तिम निर्णय लिनुपर्ने भएकाले विशेष साधारण सभा बोलाउने निर्णय गरिएको हो ।

संस्थाले यस प्रक्रियामा सदस्यहरूको मताधिकार सुरक्षित गरिएको छ र त्यसैले विशेष साधारण सभा बोलाउनु अवैधानिक वा संस्थाको इमान्दारिता माथिको प्रहार भन्ने दाबीहरू पूर्णतः असत्य रहेको बताएको छ ।

यसबीच प्राप्त उजुरीको आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगन गर्न निर्देशन दिएको भए पनि, दुवै पक्षसँग छलफलपछि नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरी पत्रमार्फत सो आदेश फुकुवा गरिएको पनि नाडाले जनाएको छ ।

यससँगै विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रूपमा सम्पन्न हुने मार्ग खुलेको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले संस्थामाथि लगाइएका पदाधिकारी हेरफेर, कार्यकाल लम्ब्याउनेजस्ता आरोपहरू पूर्ण रूपमा गलत र भ्रामक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘म कुनै व्यक्तिगत स्वार्थले पदमा बसिरहेको छैन। यदि सबै सरोकारवालाहरूको सहमति भयो भने म तुरुन्तै निर्वाचनसहितको वार्षिक साधारण सभा आह्वान गरेर पद हस्तान्तरण गर्न तयार छु ।’

उनले नेतृत्वको चयन लोकतान्त्रिक प्रक्रिया र सदस्यहरूको मताधिकारमार्फत मात्र हुनेमा संस्था अडिग रहेको दोहो¥याए ।

नाडाले आफू सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साझा संस्था भएको र यसलाई कुनै व्यक्तिको स्वार्थमा प्रयोग गर्न नदिइने स्पष्ट पारेको छ । संस्थागत सुधार, महासंघमा रूपान्तरण जस्ता विषयहरू निष्पक्ष, पारदर्शी र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्र अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नाडाले सबै सदस्य, व्यवसायी तथा शुभेच्छुकहरूलाई भ्रामक प्रचारप्रति सतर्क रहन र संस्थाको आधिकारिक सूचना तथा लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्न आग्रह गरेको छ ।

नाडाको विशेष साधारण सभा निर्धारित मितिमा कानुनी र संस्थागत प्रक्रिया अनुसार सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =