सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, निःशुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने, जुम्लाका स्याउको बजारीकरण गर्नुपर्नेलगायत विषय उठाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले विगत ९५ दिनदेखि आफ्नोले दल भिजिट भिसा प्रकरणलाई लिएर सदनमा छानबिनको माग गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको बताए । विरोधका आवाजलाई दमन गरेर संसदीय व्यवस्था बलियो नहुने उनले ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बजारीकरण गर्नुपर्ने र अर्गानिक आन्तरिक उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
विदेशी स्याउ बढी आयात हुँदा नेपालभित्रको उत्पादनले बजार पाउन नसकेकाले केही समय आयात रोक्न सके यहाँको उत्पादनले बजार पाउने उनको भनाइ छ ।
वर्षाका कारण अवरुद्ध जुम्ला जोड्ने सडक लामो समयदेखि खुल्न नसकेको उल्लेख गर्दै सांसद शाहीले अवरुद्ध बाटो खुलाउन पर्याप्त उपकरण परिचालन गरिनुपर्ने बताए। आफ्नो दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै आएको बताउँदै उनले उक्त विषयमा सुनुवाइ हुन नसकेको गुनासो गरे ।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले बारा, पर्सा रौतहटलगायत तराईका जिल्लामा खानेपानीको चरम अभाव रहेको विषय सदनमा उठाए । उनले यो समस्या तत्काल समाधानका लागि पहल थाल्न सदनमार्फत सरकारको ध्यानाकर्षण गरे ।
तराईमा सुख्खा क्षेत्र घोषणा भए पनि त्यसको कार्यान्वयन हुने नसकेको पनि सांसद तिमलसेनाले बताए । आन्दोलनरत उखु किसानका माग सम्बोधन हुन नसकेकोप्रति उजले चिन्ता व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सेवासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेसँगै परोपकारी संस्था तथा सामुदायिकस्तरबाट सञ्चालित तीन हजारभन्दा बढी एम्बुलेन्सले सेवा दिन नपाएर थन्किएका बताउनुभयो । स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने नयाँ व्यवस्थाले समस्या देखिएको उनले उल्लेख गरे ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि भासिएको पुलको निर्माण हालसम्म सुरु हुन नसकेको बताउनुभयो । यस विषयमा सदनमा पटकपटक जानकारी गराइए भए पनि सुनुवाइ हुन नसकेको उहाँको भनाइ छ । उखु किसानले आफ्ना माग पूरा नभए राजमार्ग अवरुद्ध गर्ने बताइरहेका उल्लेख गर्दै सांसद यादवले यस्तो अवस्था आउन नदिन जायज माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएको विषय सदनमा उठाउनुभयो । सडक अवरुद्ध हुँदा ढोरपाटन पर्यटकीय क्षेत्रमा आवागमन असहज भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले भक्तपुर सूर्यविनायक भीमसेनथान नजिकै पहिरो गएको र भीमसेनस्थान मन्दिरसमेत पहिरोको जोखिममा परेको बताउनुभयो । मानव बस्ती समेत जोखिममा परेकाले उक्त स्थानको पहिरो रोकथामका लागि तत्काल पहल गरिनुपर्ने उहाँको माग छ । उहाँले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन नसकिएको विषयमा उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रामकुमार राईले खोटाङ जिल्लामा ५० श्ययाको सुविधासम्पन्न अस्पताल निर्माणलाई शीघ्रता दिनुपर्ने, जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्या अपुग रहेकाले तत्काल परिपूर्ति गरिनुपर्नेलगायत विषय सदनमा उठाए । प्रत्येक नागरिकलाई आधारभूत र निःशुल्क स्वास्थ्यसेवाको हक रहेको बताउँदै उहाँको त्यसको कार्यान्वयनका लागि पर्याप्त पहल हुन नसकेको धारणा राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले कर्णाली क्षेत्रका माग सुनुवाइ हुन नसकेको विषय सदनमा उठाए ।








