असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू हुने

काठमाडौँ । अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ ।

विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस प्रणालीको विकास गरेको हो ।

यस प्रणालीलाई दुई चरणमा गरेर लागू गर्ने विभागको तयारी छ । पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रूपमा लागू गरिने विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरूमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालभित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यले राख्नको लागि यस प्रणाली लागू गर्न लागिएको बताए । उनले नेपाल प्रवेश गरेका जो कोहीको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रविधि जडान गरिएको बताए ।

उनले भने ‘हाम्रो सीमाभित्र जतिपनि विदेशी नागरिक आउनुहुन्छ । जुनसुकै प्रयोजनका लागि । त्यो अध्यागमनको सिष्टमा आइसकेपछि हामी उहाँहरूलाई हामी अराईभल दिन्छौँ। त्यसपछि उहाँहरूको मुभमेन्ट कहाँ कहाँ हुन्छ । त्यो चाहिँ राज्यको नोटिसमा हुनुपर्छ ।’

दुई वटा कारणले उनीहरू राज्यको निगरानीमा हुनुपर्ने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाई छ । पहिलो कारण विदेशी नागरिक, पर्यटकहरूको सुरक्षा, उनीहरूलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा, उद्धार, खोज रहेको उनले बताए । साहसिक पर्यटनको लागि नेपाल आउने पर्यटकहरूलाई समस्या परेको बेला तुरुन्तै उद्धार गर्न गाह्रो परिरहेको उनको भनाई छ । दोस्रो, नेपाल भित्र प्रवेश गरेर विदेशीहरूले देशको भिसा विपरीत, प्रचलित कानुन, सामाजिक मूल्य, राजनीतिक, सामाजिक, आर्थिक चाखहरूको विरुद्धमा कुनै काम गरेको भए पत्ता लगाउन आवश्यक रहेको महानिर्देशक तिवारीको भनाई छ । उनले अपराध अनुसन्धानको हिसाबले पनि यो प्रणाली निकै महत्त्वपूर्ण भएको बताए ।

उनले भने ‘दुई वटा कारणले उनीहरू राज्यको निगरानीमा हुनुपर्छ । एउटा कारण चाहिँ विदेशी नागरिकहरू, पर्यटकहरूको सुरक्षा, उनीहरूलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा अथवा उद्धार खोज पनि हुनसक्छ । हाम्रो भूगोलमा साहसिक पर्यटनको लागी पनि आउनुहुन्छ । त्यो अवस्थामा पनि तुरुन्तै नेभिकेट गर्न नसकेको अनुभव छ । दोस्रो कुरो, हाम्रो सार्वभौम सत्ताभित्र आउने कोहीपनि विदेशीहरू कसरी मुभमेन्ट गरिरहेका छन् । त्यो हाम्रो राष्ट्रिय भिषाको जे सर्त हो र हाम्रो राष्ट्रिय चाख, हाम्रो स्वार्थ, हाम्रो प्रचलित कानुनहरूको, हाम्रो सामाजिक मूल्यहरूको, सामाजिक प्रबन्धहरूको, राजनीतिक, सामाजिक, आर्थिक चाखहरूको विरुद्धमा कुनै त्यस्तो कामहरू भएको सूचनाहरू पनि भयो भने तुरुन्तै त्यसलाई पनि नेभिकेट गर्ने । अपराध अनुसन्धानको हिसाबले जुनसुकै हिसाबले पनि यो प्रणाली महत्त्वपूर्ण छ ।’

यस प्रणाली लागू गर्ने विभागको तत्कालीन उद्देश्य भने पर्यटकहरूको गतिविधिको निगरानी गर्ने भएको महानिर्देशक तिवारीले बताए । पर्यटकहरू कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सूचना मात्रै विभागको सिस्टममा फाल्ने उनले जानकारी दिए । त्यो भन्दा बढी उनीहरूले के खाए, कतिबेला सुते लगायतका विषय राज्यले खोजेर नबस्ने उनको भनाई छ । उनले यस प्रणालीमा पर्यटकलाई समावेश गर्ने नभई उनीहरूले सेवा प्रवाह गर्ने संस्थाहरूलाई समावेश गर्न लागिएको बताए । पर्यटकलाई सेवा सुविधा प्रदान गर्ने होटल, बैंक, मनि एक्सचेन्ज, ट्राभल एजेन्सी, हवाई कम्पनी, सवारी कम्पनीमार्फत पर्यटकहरूको गतिविधि निगरानी गर्न लागिएको उनले जानकारी दिए । ती कम्पनीहरूले राखेका रेकर्ड विभागको प्रणालीमा राख्न लागिएको उनको भनाई छ ।

उनले भने ‘विभागको अहिलेको उद्देश्य भनेको पर्यटकहरूको गतिविधिको निगरानी गर्ने मात्रै हो । पर्यटकहरू कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सूचना मात्रै हाम्रो सिस्टममा फाल्ने हो । त्यसको अर्थ त्यो भन्दा बढी उहाँहरू के गर्नुहुन्छ । कहाँ खानुहुन्छ, कतिबेला उठ्नुहुन्छ त्यो चाहिँ अहिले, एकदमै आवश्यक प¥यो भने राज्यका निकायहरूले हेर्न त सक्छन् । तर प्राथमिक रूपमा त्यो हाम्रो कन्र्सनको विषय होइन । यो सबै हामीले गर्ने काम हो फेरि पर्यटकहरूलाई यसमा समावेश गराउने होइन । पर्यटकलाई हामीले सुविधा दिने हो । हामी जतिपनि सर्भिस प्रोभाईडरहरु छौँ । उहाँहरूले त्यो विदेशी नागरिकसँग सम्बन्धित बस्नको लागी होटलमा होस्, अथवा बैकमा गएर मनी एक्सचेन्ज गर्ने होस् । कुनै एजेन्सी मार्फत ट्रेकिङमा जाने कुरा किन नहोस् । कुनै हवाई अथवा अरू पर्यटक सवारीहरू मार्फत देशभित्रको गतिविधि होस् । त्यसको रेकर्ड हाम्रो राष्ट्रिय सिस्टममा, नेपालको अध्यागमनको सिस्टममा राख्ने कुरा हो ।’

उनले यसका लागि दुई वटा मोडलमा विभागले काम गरेको जानकारी दिए । एउटा, सम्बन्धित संस्थाले विभागको सिस्टममा सूचना अपडेट गर्नुपर्नेछ भने अर्को एपिआईमार्फत संस्थाहरूले प्रयोग गरिरहेको सिस्टमलाई विभागको सिस्टममा सूचना फाल्नेगरि व्यवस्था मिलाएको उनले बताए ।

उनले भने ‘हामीले अहिले दुई वटा मोडलमा काम गरेका छौँ । एउटा चाहिँ हामीले एउटा सिस्टम बनाएका छौँ । त्यो सिस्टममा चाहिँ उहाँहरूले त्यो सूचनाहरू होटलमा हो भने होटलले चेक ईन र चेक आउटको सूचना त्यसमा हाल्नुपर्यो । जो जसले उहाँहरूसँग ट्रान्जेक्सन गर्नुहुन्छ, कुनै सेवा दिनेलिने काम गर्नुहुन्छ । उहाँहरूले त्यसमा अपलोड गर्नुपर्यो । दुईटा चाही हामीले सिस्टमबाट एपिआई मार्फत जस्तो ठुला होटलले जुन सिस्टम चलाउनु भएको छ । उहाँहरूले आफ्नो सिस्टममा चेक ईन गर्दाखेरि सूचना हाम्रो सिस्टम नेपाली पोर्टमा फाल्ने गरेर हामीले काम गरेका छौँ ।’

विभागका महानिर्देशक तिवारीले नेपाल प्रवेश गरेको पर्यटक अध्यागमनबाट नफर्केसम्म राज्यले आवश्यक परेको बेला, उनीहरूकै परिवारलाई, विदेशी नियोगहरूलाई आवश्यक परेको बेलामा कहाँ छ भन्ने जानकारी उक्त प्रणालीले दिने बताए । यो प्रणाली नहुँदा पर्यटकहरू कहाँ के गरिरहेको छ भन्ने थाहा पाउन मुस्किल भएको उनको भनाई छ ।

व्यक्तिगत डाटाको दुरुपयोग होला नि भन्ने प्रश्नमा उनले यो डाटा राज्यले लिन लागेकोले दुरुपयोग हुने सम्भावना नै भएको बताए । अध्यागमनले ट्रयाकिङ गर्न लागेको भन्दा बढी विवरण पर्यटकहरूलाई भिसा दिँदा नै विभागसँग हुने उनको भनाई छ ।

उनले भने ‘यो राज्यले लिन लागेको डाटा हो । त्यसो हुँदाखेरि अध्यागमनले ट्रयाकिङ गर्दै गरेकाको सबै विवरण ट्रयाकिङ गर्नेभन्दा धेरै विवरण हामीसँग पहिल्यै छ । किनभने उहाँले भिसा लिँदा, उहाँको राहदानी, भिसा सबै हामीले स्क्यानिङ गरेर राखेका छौँ । अहिले त उहाँहरू कता हिँड्नुभयो भन्ने मात्रै रेकर्ड हुन्छ । त्यसोहुँदा व्यक्तिगत विवरण दुरुपयोग गर्ने, उहाँको डेटा दुरुपयोग गर्ने भन्ने त सम्भावना नै भएन ।’

उनले साइबर सुरक्षाका लागी रोबर्ट सिस्टम बनाएको पनि बताए ।

विभागले विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवं निजी कम्पनीहरूलाई यस प्रणालीमा अनिवार्य आबद्ध हुन आग्रह गरेको छ । विभागकाअनुसार अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि, पर्यटन प्रवर्द्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरू राज्यको जानकारीमा राख्नको लागि यस प्रणालीको विकास गरिएको हो ।

विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको कार्यान्वयन गर्न विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरूलाई पत्राचार गरिसकेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत नियमित रूपमा अनुगमन हुने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =