डा.गोविन्द केसीले सुरु गरे कैलालीमा २३ औं सत्याग्रह

कैलाली । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्राध्यापक डा. गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा तीनदिने २३औं सत्याग्रह सुरु गरेका छन् ।
उनले निजी मेडिकल कलेजलाई सरकारले गलत तरिकाले विद्यार्थी संख्या वृद्धि गर्न दिएको निर्णय फिर्ता लिन र शुल्क वृद्धि नगर्न सरकारलाई कडा सन्देश दिएका छन् ।
साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने र गेटा मेडिकल विश्वविद्यालयमा अस्पताल सेवा तथा शैक्षिक कार्यक्रम तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्ने माग पनि राखेका छन् ।
डा. केसीले स्वास्थ्य शिक्षा एकीकरण, पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्नुपर्ने, मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने र सरकारी अस्पतालहरुमा दरबन्दी वृद्धि गरी सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने पनि जोड दिएका छन् ।
उनले विगतमा पनि पटक–पटक चिकित्सा शिक्षा सुधारका लागि अनशन बसेका थिए ।
सत्याग्रहले सरकार र सम्बन्धित निकायहरूलाई चिकित्सा शिक्षा सुधारतर्फ थप ध्यान दिन बाध्य बनाउने आशा गरिएको छ ।








