सर्भर डाउन हुँदा नागरिकले बायोमेट्रिक प्रक्रियामा दुःख पाइरहेका छन् : सांसद गैरे

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले देशभरका वडा कार्यालयहरूमा ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका नागरिकले बायोमेट्रिक प्रक्रियामा दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले सरकारले प्रयोग गर्दै आएको सर्भर डाउन हुने समस्याका कारण आम नागरिकले दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सरकारले प्रयोग गरेको सर्भर क्षमता र गुणस्तरमै प्रश्न उठिरहेको उल्लेख गर्दै यसको समाधानका लागि आवश्यक कदम चाल्न माग गरे ।
उनले भने ‘अहिले देशभरिका सबै वडा पालिकाहरूमा यो ज्येष्ठ नागरिकहरू र सामाजिक सुरक्षा भत्ता पाइराख्नुभएका नागरिकहरू बायोमेट्रिक गर्न वडा कार्यालयहरूमा धाइराख्नुभएको छ । म यसबीचमा धेरै वडाहरूको भ्रमण गर्न जाँदा वडा कार्यालयहरू अशक्त ज्येष्ठ नागरिकहरू भरिभराउ अवस्थामा हुनुहुन्छ । दुई तीन दिनसम्म पनि काम भएन । किन यस्तो समस्या भयो भन्दाखेरि यसको उत्तर एउटै छ–सर्भर डाउन भयो । नेपाल सरकारले गरिद गरेको सर्भरको क्षमता कम भएर हो वा गुणस्तरीय भएर हो रु नभए यस्तो किन भइरहेको छ रु यसको समाधानको निम्ति किन पहल भइरहेको छैन । र त्यस्ता ज्येष्ठ नागरिक र असशक्तहरुलाई घरमै गएर सेवा प्रदान गर्न किन सकिँदैन भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र सर्भर समस्याको समाधान तत्काल खोज्न समेत माग गर्न चाहन्छु ।’
सांसद गैरेले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था गर्न समेत उनले सरकारसँग माग गरे ।








