नेपाल हुँदै भारत छिरे तीन पाकिस्तानी आतंककारी, बिहारमा उच्च सतर्कता

काठमाडौं । नेपालको भूमिबाट भारत प्रवेश गरेका तीन जना पाकिस्तानी आतंकवादीबारे सूचना सार्वजनिक भएपछि भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जैश–ए–मोहम्मद आतङ्ककारी समूहका सदस्य हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपाल हुँदै भारत छिरेको जानकारी सार्वजनिक भएपछि भारतीय प्रहरी मुख्यालयले सबै सुरक्षा निकायलाई हाई अलर्ट मा राखेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इन्डिया टुडेका अनुसार ती तीनै जना पाकिस्तानी नागरिक हुन् र उनीहरू भारत छिरेको सूचना पाएसँगै सुरक्षा संयन्त्रमा हलचल मच्चिएको छ । तर उनीहरूले नेपाल–भारत सीमाको कुन नाका प्रयोग गरे भन्नेबारे भने अझै स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।
न्युज–१८ को रिपोर्टअनुसार ती आतंककारीहरूको हुलिया र परिचय विवरण प्रहरीका सबै युनिटहरूमा पठाइएको छ । सुरक्षा अधिकारीहरूलाई सतर्क रहन तथा स्थानीय बासिन्दालाई कुनै पनि शंकास्पद गतिविधिबारे प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ ।
ईटीभी भारत ले जनाएको छ कि बिहारका सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौल जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ । गुप्तचर निकायहरूलाई पनि सक्रिय बनाइएको छ ।
यसअघि पनि सन् २०२४ मा नेपालमार्ग हुँदै भारत प्रवेश गरेका तीन जना आतंकवादीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।








