भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच उच्चस्तरीय वार्ता

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
आईतवार बिहान काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख तथा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समग्र छलफल भएको छ ।
उनकाअनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवद्र्धनका लागि एयर कनेक्टिभिटी बढाउने, साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए ।
उनले भियतनामको तिब्र आर्थिक वृद्धि नेपालका लागि सिकाइको अवसर भएको उल्लेख गर्दै दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामना गर्न सहकार्य गर्ने सहमति भएको पनि जानकारी दिए ।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शनिवार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कुटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा भएको हो । यो नै भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।








