नाडा अटो शोमा कीर्तिमानी दर्शकको ओइरो, ५ दिनमै एक लाख नाघे

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित ‘नाडा अटो शो २०२५’ ले यस वर्ष ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनीको पाँचौँ दिनसम्ममा १ लाख ४ हजार ८८१ दर्शकले अवलोकन गर्दै यो संस्करणले कीर्तिमान कायम गरेको हो ।
उत्साहजनक सहभागिताले नेपाली बजारमा अटोमोबाइल क्षेत्रप्रतिको आम चासो र नयाँ प्रविधिप्रतिको जिज्ञासालाई स्पष्ट रूपमा दर्शाएको छ । शोको पाँचौँ दिन पनि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रह्यो । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सीजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी तथा कलाकार सन्दीप क्षेत्री लगायतले प्रदर्शनीको अवलोकन भ्रमण गरे ।
प्रदर्शनी केवल गाडी र मोटरसाइकलको अवलोकनमा मात्र सीमित रहेन, विभिन्न समसामयिक विषयमा महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रमहरू पनि सञ्चालन गरिए । ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा ‘सडक र यातायात’ विषयमा गहन छलफल भयो भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा ‘मेड इन नेपाल’ अर्थात् स्वदेशी उत्पादनको सम्भावना र चुनौतीबारे अर्को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
यस ऐतिहासिक सफलताप्रति प्रतिक्रिया दिँदै नाडाका अध्यक्षले भने, ‘यो कीर्तिमानी उपस्थिति हाम्रा लागि केवल एक तथ्याङ्क होइन, यो एक शुभआरम्भ हो । यसले हाम्रो अपेक्षालाई अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटीको उदीयमान केन्द्र बनाउने हाम्रो आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।’
अध्यक्षले यस सफलताका लागि सम्पूर्ण प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताहरूलाई हार्दिक आभार व्यक्त गरेका छन् । उनले भने, ‘नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्यको तयारीको राष्ट्रिय उत्सव बनेको छ ।’









