सत्ता गठबन्धनको आकस्मिक बैठक सिंहदरबारमा जारी

काठमाडौं । सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक सुरु भएको छ ।
उपसभामुख इन्दिरा रानामगरविरुद्धको प्रस्ताव दर्ताबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा सरकारमा सहभागी दलहरु सहभागी छन् । बैठकमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीकी सांसद अनिता देवी पनि सहभागी छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानालाई पदबाट हटाउने प्रयासस्वरूप हस्ताक्षर संकलन सुरु गरिसकेका छन् । अब सत्ता गठबन्धनमा रहेका अन्य दलहरूसँग सहमति जुटाउने कसरतमा जुटेका हुन् ।
प्रतिनिधि सभामा हाल २७४ जना सांसद सक्रिय छन् । रुपन्देही–३ का सांसद दीपक बोहराको निधनपछि एक सिट रिक्त छ । नियम अनुसार, सभामुख वा उपसभामुखलाई पदबाट हटाउन दुई तिहाइ अर्थात् १८३ सांसदको समर्थन आवश्यक पर्छ ।
हाल नेपाली कांग्रेससँग ८८ र एमालेसँग ७९ सांसद छन्, जसले गर्दा दुबै पार्टीसँग कुल १६७ सांसदको संख्या हुन्छ । आवश्यक दुई तिहाइ पुग्नका लागि अझै १६ जना सांसदको समर्थन आवश्यक छ । यही गणित मिलाउन कांग्रेस र एमाले अन्य दलहरूलाई समेट्ने प्रयासमा छन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २१० अनुसार, उपसभामुखले पदअनुकूल आचरण नगरेको भनी प्रस्ताव ल्याउन सभाका चौथाइ सांसदको समर्थन आवश्यक पर्छ ।
२७५ सदस्यीय सभामा चौथाइ भनेको कम्तीमा ६९ सांसद हो, जुन संख्या सत्तापक्षले सजिलै जुटाउन सक्छ । तर, पारित गर्न दुई तिहाइ आवश्यक छ, जुन अहिलेको शक्ति सन्तुलनमा चुनौतीपूर्ण देखिन्छ ।








