न्यून कार्बन उत्सर्जन गर्दा पनि जलवायु परिवर्तनको पीडा भोग्यौं, वित्तमा सहज पहुँच चाहियो : वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर र दुःखद् असर भोगिरहेको बताएका छन् । रसुवाको बाढीपहिरो र तराईको खडेरी जस्ता घटनाले खाद्य सुरक्षामा समेत संकट निम्त्याएको भन्दै उनले जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘हिन्दुकुश हिमालय संसदीय सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा बढी पीडित भएको बताए । ‘यस वर्ष मात्रै नेपालले जलवायु परिवर्तनका दुःखद् अनुभव व्यहोर्नुपर्‍यो,’ मन्त्री ठकुरीले भने, ‘हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाए, अर्बौंको सम्पत्ति नोक्सान भयो । अर्कोतर्फ, तराई-मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या भयो र किसानले समयमा खेत रोप्न पाएनन् ।’

समयमा धान रोप्न नपाउँदा आगामी दिनमा मुलुकले खाद्य सुरक्षाको गम्भीर समस्या सामना गर्नुपर्ने अवस्था सिर्जना भएकोतर्फ उनले ध्यानाकर्षण गराए । नेपालले आफ्नो कुल भूभागको करिब ४६ प्रतिशत वन क्षेत्र कायम राखेर जैविक विविधता संरक्षणमा ठूलो लगानी गरेको स्मरण गराउँदै उनले भने, ‘हामीले न्यून कार्बन उत्सर्जन गर्दागर्दै पनि जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको छ ।’

मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब नागरिकको पानी, खाद्य र ऊर्जा सुरक्षाको आधार भएकोले यहाँ जलवायु परिवर्तन र जैविक विविधतामा आइरहेको ह्रासले ठूलो संकट निम्त्याइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =