नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् ।
ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताए ।
नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ । मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन ।
लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरेका छन् ।
नेपाल सरकार नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने बताए ।
नेपालमा प्रयोग हुने कम्पनीहरुले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताए । यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पु¥याउन पनि सञ्चारमन्त्रालयलाई निर्देशन दिए ।








