ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पत्ति उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताए । उनले नागरिकताको दुरुपयोग बढ्नसक्नेतर्फ संकेत गर्दै वंशजको नागरिकतालाई लचिलो बनाउन नहुने बताए ।

उनले भने ‘अहिले ब्रिटिस गोर्खाका छोराछोरीहरू त्यही पढिरहेका छन् । उनीहरूले उतैको परिचय प्रमाणपत्र लिएका पनि छन् । पछि उनीहरूको आमाबुबा मरेपछि नागरिकता नभएको अवस्थामा नेपालमा रहेको सम्पत्ति खान पाउने अवस्था रहँदैन । यो विषयमा गम्भीर रूपमा सोच्नुपर्छ । यो स्वघोषणाको विषयमा पनि समस्या आउन सक्छ । वंशजको नागरिकतामा सरकार लचिलो हुनुहुँदैन । तर अङ्गीकृत नागरिकताका सम्बन्धमा बरु लचिलो हुनसक्छ । यो महिलालाई अप्ठ्यारो पार्नेगरी कानुन आउँदै छ । यसमा सचेत हुन जरुरी छ ।’

उनले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =