प्रधानमन्त्री ओलीको घोषणा: ‘मैले बोलेका कुराको भुक्तानी दिन तयार छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बोलेका अभिव्यक्तिहरूको भुक्तानी कुनैपनि समयमा दिन तयार रहेको स्पष्ट पारेका छन् ।
आईतबार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ लोकार्पण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले व्यक्त गरेका विचारहरू तथ्यमा आधारित रहेको दाबी गर्दै यदि ती असत्य सावित भए तत्काल भुक्तानी दिन आफू तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘मैले भनेका कुराहरुमा नेपाल राष्ट्र बैंकले छापेका नोटहरूमा हुन्छ । कसैले भुक्तानी माग्न आएमा रुपैयाँ यति तत्काल भुक्तान दिइनेछ । मैले भनेका कुराहरुमा पनि तत्काल भुक्तान दिनेछु, यदी मिलेन भने ।’
सरकारको भूमिका बारे पुनः परिभाषा आवश्यक रहेको धारणा राख्दै उहाँले सरकार शासक नभई व्यवस्थापक र सेवक हुनुपर्नेमा जोड दिए । ‘गभर्मेण्ट भन्नेको परिभाषा बदल्नुपर्छ । गभर्मेण्ट शासक होइन, व्यवस्थापक हो र सेवक हो,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास दिनु सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे । उनले कर्तव्यप्रति जिम्मेवार सरकारले मात्र जनताको विश्वास जित्न सक्ने धारणा राखे ।
‘एउटा जिम्मेवार सरकार जनताप्रति उत्तरदायी मात्रै होइन, कर्तव्यबाट निर्देशित जिम्मेवार सरकार हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले आलोचनाको हक सबैलाई भएको स्वीकार गर्दै व्यङ्ग्यात्मक शैलीमा भने ‘रिस उठेका मानिसहरुलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । तथ्यका आधारमा चुनौतिका साथ म भन्छु – गाली गर्न त शब्दकोष पल्टाइ–पल्टाइ गरे हुन्छ । के फरक पर्छ र ?’








