फर्च्युन ग्लोबलमा बीवाईडीको ऐतिहासिक फड्को, ९१ औं स्थानमा उक्लियो

काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले प्रतिष्ठित फर्च्युन ग्लोबल सूचीमा ऐतिहासिक उछाल मार्दै ९१ औं स्थान हासिल गर्न सफल भएको छ । कम्पनी पहिलोपटक शीर्ष १०० भित्र पर्न सफल भएको हो ।

गत वर्ष १४३ औं स्थानमा रहेको बीवाईडीले यसपालि ५२ स्थानको फड्को मारेको छ । सन् २०२२ यता लगातार यस सूचीमा परिरहेको बीवाईडीले पहिलोपटक यस्तो उच्च स्थान ओगटेको हो ।

बीवाईडीको उछालको मुख्य कारण कम्पनीको व्यापारिक विस्तार, प्रविधिमा गरिएको लगानी, र न्यू इनर्जी भेहिकल (NEV) बिक्रीमा आएको तीव्र वृद्धि रहेको छ । सन् २०२४ मा कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो ।

गत वर्ष बीवाईडीले ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेर ४१ प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको थियो । यससँगै, कम्पनीले लगातार तेस्रो वर्ष ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा अग्रता कायम राख्न सफल भयो ।

बीवाईडीको द्रुत प्रगतिको पछाडि प्रविधिमा गरिएको निरन्तर लगानी रहेको कम्पनीको विश्वास छ । ‘प्रविधिमा आधारित, इनोभेसन केन्द्रित’ दर्शनअनुसार सन् २०२४ मा मात्र कम्पनीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्च गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी हो । यो लगानी बीवाईडीको वार्षिक नाफाभन्दा समेत बढी हो ।

आरएण्डडीको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङ जस्ता प्रविधिमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको छ ।

बीवाईडीले हालसम्म १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरेर नयाँ कीर्तिमान कायम गरिसकेको छ । कम्पनीले पहिलो ६ महिनामा मात्र चीनबाहिर ४ लाख ७० हजार भन्दा बढी गाडी बिक्री गरिसकेको छ ।

ग्लोबल स्तरमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिअन्तर्गत बीवाईडीले युरोपमा हङ्गेरीमा मुख्यालय स्थापना गरेको छ । यस्तै, ब्राजिलमा उत्पादन सुरु गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी गाडी डेलिभरी गर्नु कम्पनीको आक्रामक अन्तर्राष्ट्रिय रणनीतिक हिस्सा हुन् । हाल बीवाईडीको न्यू इनर्जी गाडी ११२ देशमा उपलब्ध छ ।

फर्च्युन ग्लोबलमा बीवाईडीको प्रगतिको अर्थ कम्पनीको नवप्रवर्तन क्षमतामा विश्वास, विश्वव्यापी विस्तारमा प्रतिबद्धता र दिगो विकासप्रतिको समर्पण हो । कम्पनीले ‘कुल द अर्थ बाइ १ डिग्री सेल्सियस’ लक्ष्य अन्तर्गत दिगो र वातावरणमैत्री प्रविधिमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =