एमाले विभाजन गरेर गलत गरिएछ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) विभाजन गरेर नयाँ पार्टी गठन गर्नु ऐतिहासिक भूल भएको स्वीकार गर्दै पश्चाताप व्यक्त गरेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले एमाले जस्तो ‘नेपालको कम्युनिष्ट आन्दोलनको एउटा राम्रो संस्था’ लाई छाड्नु र विद्रोह गर्नु गलत भएको निष्कर्षमा आफू पुगेको खुलासा गरेका हुन् ।
वरिष्ठ नेता खनालको यो अप्रत्याशित र विस्फोटक अभिव्यक्तिले नेपालको कम्युनिष्ट राजनीति, विशेषगरी एकीकृत समाजवादी पार्टीभित्र ठूलो तरंग पैदा गरेको छ । पत्रकार जगदीश खरेलसँगको एक अन्तर्वार्तामा खनालले मनको कुरा खोल्दै भने, ‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो गर्नु नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म ।’
उनले एमालेमा गरिएको विद्रोह आजसम्म पनि पुष्टि हुन नसकेको र पुष्टि नहुनुको अर्थ नै त्यो कदम गलत थियो भन्ने हुने स्पष्ट पारे । खनालले आफू कुनै व्यक्ति विशेषको पछि नलागेको बताउँदै नेकपा (एमाले) लाई एउटा संस्थाको रुपमा स्मरण गरे । ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिष्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले । त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो,’ खनालले भने ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एकताका लागि निरन्तर संवाद भइरहेको खबर सार्वजनिक भइरहँदा सम्मानित नेता खनाल भने यस्तो एकताप्रति असहमति राख्दै आएका छन् । पार्टीभित्र वामदेव गौतमलाई दिइने जिम्मेवारी र अध्यक्ष नेपालको कार्यशैलीलाई लिएर पनि असन्तुष्टि रहेको बताइन्छ ।
२०७८ भदौमा केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खनाल र माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) को गठन भएको थियो । तर, स्थापनाको केही वर्षमै सम्मानित नेता खनालले विभाजनको निर्णयप्रति गरेको यो सार्वजनिक स्वीकारोक्तिले पार्टीको औचित्यमाथि नै नैतिक संकट उत्पन्न गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।








