बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

आज सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन् ।

मन्त्री दाहालले भोटेकोशी नदीले पुर्‍याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन दिए । ‘अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माणको योजना बनाउनुस्’, उनले भने, ‘नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउन जनशक्ति र स्रोत–साधन परिचालन गर्न पनि लाग्नुस् ।’

मन्त्री दाहालले बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप क्षति हुनसक्ने पक्षलाई मध्यनजर गरी वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि पनि सम्बद्ध निकायसँग समन्वय गरी काम गर्न आग्रह गरे । उनले उक्त सडकबाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी आवश्यक बन्दोबस्त गर्न निर्देशन दिए ।

विभागका महानिर्देशक डा विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ ।

यस्तै, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

‘बाढी र वर्षाको अवस्थाअनुसार विभागले तत्काल गर्नुपर्ने काम सुरु गर्दैछ भने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना बनाउँछौँ’, महानिर्देशक जैसीले भने, ‘सो क्षेत्रमा गर्नुपर्ने संरक्षण, मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =