सरकारको गतिमा कांग्रेसको असन्तुष्टि, गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा

काठमाडौं । सरकारको कामकारबाही सुस्त भएको र गठबन्धन निर्माणका क्रममा भएको सातबुँदे सहमति कार्यान्वयनमा आउन नसकेको भन्दै पार्टीभित्रैबाट चर्को आलोचना भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । पार्टीको निष्कर्ष र दबाब बोकेर सभापति देउवा केहीबेरअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

भेटमा सरकारको गति बढाउने र सहमति कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाका साथमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । सत्ता साझेदार दल नेकपा (एमाले)का तर्फबाट भने प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छलफलमा छन् ।

हिजो मात्रै सम्पन्न कांग्रेसको बैठकले एमालेसँगको सत्ता सहकार्यलाई निरन्तरता दिने तर सरकारको कार्यशैली र गतिमा व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको थियो । बैठकमा अधिकांश नेताहरूले गठबन्धन निर्माणको आधार मानिएको सातबुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

सोही बैठकको निष्कर्ष र नेताहरूको दबाबपछि सभापति देउवा, प्रधानमन्त्री ओलीलाई भेटेर सरकारलाई थप प्रभावकारी बनाउन र सहमति कार्यान्वयनका लागि दबाब दिन बालुवाटार पुगेका हुन् । यो भेटवार्तालाई सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र त्यसलाई सम्बोधन गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =