सम्पत्ति शुद्धीकरण मुद्दामा युनुस अन्सारी कारागार चलान

काठमाडौं । नक्कली भारतीय नोट प्रकरणमा पटक–पटक कानुनी कठघरामा परेका युनुस अन्सारी सम्पत्ति शुद्धीकरण मुद्दामा पनि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी धरौटी बुझाउन असफल भएका हुन् ।

अदालतको आदेशअनुसार सोमबार बेलुका सम्म धरौटी बुझाउनुपर्ने भए पनि अन्सारीले रकम नबुझाएपछि कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

अन्सारी नक्कली भारतीय नोट काण्डमा पहिल्यै दोषी ठहर भई कैद सजाय भुक्तान गरिसकेका छन् । तर, केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नोट प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण आरोपमा फेरि अनुसन्धान अघि बढाएको हो ।

जेलबाट छुट्नेबित्तिकै उनलाई सिआइबीले पुनः नियन्त्रणमा लिएको थियो । अन्सारीले आफू जेलबाट छुटेपछि पुनः पक्राउ गरिएको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तर, न्यायाधीश ऋषिराज भण्डारी र कविप्रसाद न्यौपानेको इजलासले उक्त रिट खारेज गरिदिएको थियो ।

२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए ।

उनी कतारबाट आएका तीन जना पाकिस्तानी नागरिकलाई लिन गएका थिए । ती नागरिकहरूले दुईवटा ब्रिफकेसभित्र नक्कली नोट बोकेका थिए ।

यो पनि पढ्नुहोस्– जेलमुक्त भएपछि पुनः पक्राउ परेका युनुस अदालतमा उपस्थित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =