जेलमुक्त भएपछि पुनः पक्राउ परेका युनुस अदालतमा उपस्थित

काठमाडौं । नक्कली भारतीय नोट कारोबारको मुद्दामा सजाय भुक्तान गरेर जेलमुक्त भएका युनुस अन्सारी फेरि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनलाई थुनछेक बहसका लागि जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा उपस्थित गराइएको हो । बयान हालसम्म चलिरहेको छ ।
सीआईबीले अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँको बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार मात्र अदालतमा पेश गरेको हो ।
१० जेठमा ललितपुरको नख्खु कारागारबाट सजाय भुक्तान गरी छुटेका अन्सारीलाई सीआईबीले सोही दिन सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पुनः पक्राउ गरेको थियो ।
पुनः पक्राउ लगत्तै उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पनि दर्ता गराएका थिए ।
२०७६ जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ करोड ७६ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका युनुस यसअघि नै चर्चामा आएका थिए । उनीसँगै तीन जना पाकिस्तानी नागरिक र दुई जना नेपाली पनि पक्राउ परेका थिए ।
पक्राउ पर्ने पाकिस्तानीहरूमा ४९ वर्षीय मोहम्मद अख्तर, ६७ वर्षीय नासिर उद्दिन र ३९ वर्षीय नादिया अनवर थिए । ती सबै कराँचीबाट कतार हुँदै काठमाडौं आएका थिए ।
यिनलाई लिन युनुस अन्सारीसहित रौतहटका सुबल खान र भक्तपुरका रानाभाट विमानस्थल पुगेका थिए । सोही दिन उनीहरू पनि पक्राउ परेका थिए ।
उक्त मुद्दामा युनुस अन्सारीलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र १ हजार ३ सय रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।








