८३ मंसिर पार गराएर कांग्रेस महाधिवेशन गर्न सकिँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८३ सालको मंसिर महिनाभन्दा पछि सार्न नसकिने बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकको समापन सत्रमा बोल्दै उनले विधान, संविधान र कानूनी सीमाले ८३ मंसिरपछिको सम्भावना नै नदिने स्पष्ट पारे ।
‘८३ मंसिर पार गरेर महाधिवेशन गर्न संवैधानिक र कानुनी आधार हुँदैन,’ थापाले भने, ‘त्यसैले सकेसम्म त्यो मिति पनि कुरिनकन महाधिवेशन ग¥यौं भने आगामी स्थानीय निर्वाचनको तयारी गर्न पार्टीलाई समय मिल्छ ।’
थापाले पार्टीभित्र महाधिवेशनबारे ‘कोही पक्षमा, कोही विपक्षमा’ भन्ने किसिमको प्रचारप्रति पनि आपत्ति जनाए ।
‘कोही महाधिवेशन गर्ने पक्षमा, कोही नगर्ने पक्षमा, कोही छिटो, कोही ढिलो भन्ने कुरा गरिन्छ,’ उनले भने, ‘तर हामीमध्ये कोही पनि त्यस किसिमको पक्षमा छैनौं ।’
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले पार्टीका नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा ध्यान दिन सुझाव दिए ।








