बालेनका सल्लाहकार गिरी रुपन्देही–३ बाट उम्मेदवारी दिन तयारीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य तथा खाद्य सल्लाहकार सन्तोष गिरीले रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीका स्थायी बासिन्दा ३३ वर्षीय गिरी रुपन्देही–३ कै जन्मथलो भएकाले आफूलाई उम्मेदवार बनाउने प्रस्ताव स्थानीयबाट आएको भन्दै सोही अनुसार गृहकार्यमा लागेको बताएका छन् ।
‘स्थानीय शुभेच्छुकहरूबाट निरन्तर आग्रह आइरहेकाले उम्मेदवार बन्ने सोच बनाएको हुँ,’ गिरीले भने, ‘तर हतारमा घोषणा गरेको छैन, साउन भित्र सबै प्रष्ट हुन्छ ।’
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रने तयारीमा रहेका गिरीले योग्य, सक्षम र स्वतन्त्र उम्मेदवार आए आफूले सहयोग गर्ने संकेत पनि दिए ।
गिरी हाल नेपाल स्वीस चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
विद्यार्थी राजनीतिमा सक्रिय रहँदै अनेरास्ववियु रुपन्देहीका सहसचिवसमेत भइसकेका उनी प्रखर वक्ताका रूपमा चिनिन्छन् ।
गिरीको सम्भावित उम्मेदवारी पछाडि बालेन समर्थकहरूको टोली सक्रिय रहेको स्रोतले बताएको छ । काठमाडौं महानगरमा बालेनलाई सत्तारूढ गठबन्धनका दलहरूले ‘एक्ल्याएको’ भन्दै संघीय संसदमा उनको पक्षमा आवाज उठाउने प्रतिनिधि आवश्यक ठानी गिरीलाई अगाडि सारिएको बताइएको छ ।
गिरीको उम्मेदवारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समेत समर्थन जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । गिरी आफैं स्वतन्त्र हुने तर संस्थागत रूपमा समर्थन लिन चाहने रणनीतिमा देखिएका छन् ।








