राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान नेपालमै रहेको दाबी पुनः दोहोर्याएका छन् ।
नेकपा (एमाले) पर्यटन तथा नागरिक उड्डयन विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चितवनको माडीस्थित ठोरी क्षेत्रलाई भगवान रामको जन्मभूमि भएको स्पष्ट दाबी गरे ।
‘हामी टुरिजमको कुरा गर्छौं, तर नेपालमा राम जन्मिएको कुरा भन्न डराउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘राम जन्मिएको ठाउँ अहिले नेपालको भूमिमा पर्छ । त्यतिबेला के थियो, थारु गाउँ थियो कि के थियो, म भन्न सक्दिनँ । तर अहिले त्यो भूभाग नेपालमै पर्छ ।’
प्रधानमन्त्री ओलीले रामको जन्मस्थान भारतको अयोध्यामा भएको भन्ने स्थापित मान्यतालाई चुनौती दिँदै वाल्मीकि कृत रामायणमा पनि नेपालकै सन्दर्भहरू पाइने उल्लेख गरे ।
‘मैले लेखेको होइन नि रामायण, वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम–लक्ष्मणलाई शिक्षा दिएको उल्लेख छ,’ उनले भने, ‘विश्वामित्र चतराका हुन् भन्ने कुरा पनि त्यसैबाट प्रष्ट हुन्छ ।’
प्रधानमन्त्री ओलीले धार्मिक र सांस्कृतिक सम्पदालाई प्रवद्र्धन गर्दै पर्यटन क्षेत्र विस्तार गर्न सकिने उल्लेख गर्दै अनलाइन माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने धारणा व्यक्त गरे ।
‘नेपालको प्रचार गर्न विदेश जानुपर्छ भन्ने होइन, नेपालमै बसेर अनलाइनबाट संसारलाई देखाउन सकिन्छ,’ उनले भने ।
उनले शिव र ऋषि विश्वामित्र पनि नेपालकै भएको दाबी गर्दै रामको जन्मभूमि विषयमा डर नमानी सत्य बोल्नुपर्ने आवश्यकता औंल्याए ।








