दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।
सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको रहेको बताए । परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गरे ।
देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियोगिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
उनले भने ‘नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको छ । हामी सानो सानोमा बाख्रा चराउन जाँदा किर खेल्थिम । किरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम । त्यसकै आज विकसित रूप क्रिकेट हो । हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन् । यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियोगिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ ।’
एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आइतबार साँझ स्वदेश फर्किएको हो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।








