निजी बैंकलाई विदेशमा शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ : प्रेम सुवाल

‘निजी बैंकलाई विदेशमा शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ’ ः सांसद प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंकलाई विदेशमा शाखा खोल्न दिने व्यवस्था खतरनाक भएको टिप्पणी गरेका छन् ।
आईतबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)’को छलफलमा भाग लिँदै सांसद सुवालले, निजी बैंकलाई विदेशमा शाखा खोल्न दिने प्रावधान चोरका लागि चौतारो बन्ने चेतावनी दिएका हुन् ।
‘बैंकको शाखा विदेशमा खोल्न दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको रहेछ,’ सुवालले भने, ‘निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ । विदेशी बैंकमा खाता खोल्न पनि दिनु हुँदैन ।’
उनले सरकारप्रति आग्रह गर्दै भने, ‘जिल्लाका बैंकहरूमा खाता खोल्ने, कर्जा लिने वातावरण बनाउनुपर्छ । विदेशी वित्तीय पहुँचको नाममा निजी लाभका योजना अघि बढाउनु अनुचित हुन्छ ।’
सांसद सुवालले बैंकहरूमा अनुगमनपछि तयार हुने प्रतिवेदन गोप्य नराख्नुपर्ने पनि बताए ।
उनले भने, ‘बैंकले गरेको अनुगमनका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । यस्ता रिपोर्ट गोप्य राख्नु जनताको पहुँचभन्दा बाहिर पु¥याउनु हो, जुन गलत अभ्यास हो ।’
छलफलका क्रममा सुवालले फौजदारी अभियोग पुष्टि भएकाहरूलाई सार्वजनिक पदमा नियुक्त नगर्नुपर्ने पनि धारणा राखे ।
‘फौजदारी अभियोग लागेको व्यक्तिलाई सार्वजनिक ठाउँमा जान दिनु हुँदैन,’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक जिम्मेवारी दिनु भनेको अपराधलाई प्रोत्साहन गर्नु हो ।’








