वायुसेवा निजीकरण गरे सिंहदरबार पनि विदेशीलाई दिनुपर्ला : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले ल्याएको हवाई सेवा सम्बन्धी विधेयकले राष्ट्रिय ध्वजावाहक वायुसेवालाई निजीकरण गर्ने बाटो खोलेको भन्दै आपत्ति जनाएका छन् । उनले सबै राष्ट्रिय सम्पत्ति निजीकरण गर्दै जाने हो भने भोलि देशको प्रशासनिक केन्द्र सिंहदरबार पनि विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनसक्ने भन्दै सरकारलाई चेतावनी दिएका हुन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो धारणा राखेका हुन् । उनले विधेयकको प्रस्तावनामै वायुसेवालाई व्यवस्थापन करारमा दिने, शेयर निष्कासन गर्ने वा बिक्री गरिने छैन भन्ने प्रावधान स्पष्टसँग राख्न माग गरे ।

‘वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री गरिने छैन भनेर यो प्रस्तावनामा ल्याउनुपर्छ,’ विधेयकको नियतमाथि प्रश्न उठाउँदै उनले भने, ‘त्यो ल्याइएन भने यसका विभिन्न दफामा निजीकरणको लागि बाटो खुला गरिएको छ । अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ ।’

उनले सरकार आफैँले केही गर्न नसक्ने र एउटा व्यक्तिको कम्पनीले देश चलाउने जस्तो गरी विधेयकको उद्देश्य राखिएको भन्दै यो राष्ट्रहितविपरीत भएको बताए । उनले थपे, ‘सरकारले केही गर्न नसक्ने, अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य छ, त्यो ठीक भएन । त्यसमा सचेत हुनुपर्छ ।’

समितिमा आइतबार उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिएको थियो । विधेयकले नेपालको हवाई उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने लक्ष्य राखे पनि यसका केही प्रावधानले निजीकरणलाई प्रोत्साहन गर्नसक्ने भन्दै सांसद सुवालले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =