विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ ।

शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो । समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत् छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले बताए ।

त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलेको नाम प्रस्तावित समेत भएको छ । तर समितिका सांसदहरूले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरू ज्ञाता नभएको भन्दै अन्य विज्ञहरू नियुक्ति गर्नु उचित हुने धारणा राखे । सभापति साहले सांसदहरूसँग विज्ञहरूको नाम भए दिन आग्रह गरेका छन् ।

उनले भने ‘भोलिको दिनमा हाम्रो समितिमा आउन लागेको दुई वटा विधेयक मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत् छलफल गर्नुपर्ने भएकाले र विज्ञहरूको आवश्यकता भएको कारणले विज्ञहरू नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौँ । पारिश्रमिक बिना कसैले एक दिन, दुई दिन सहयोग गर्नसक्छ । तर हामीसँग पर्याप्त विज्ञ नियुक्ति गर्न बजेट भएकै अवस्थामा किन आर्थिक हिसाबले नै नियुक्ति नगर्ने । दीर्घकालीन हिसाबले नै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ । काशिराज दाहाल र माधव पौडेलेको नाम आयो । समितिलाई आवश्यक पर्ने विज्ञहरू भए अरु पात्रको पनि नाम लिन सक्नुहुन्छ ।’

समितिले पारिश्रमिक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानुन झनै राम्रो निर्माण गर्न सकिने सांसदहरूको धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =