जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी, एसपीलाई गरेका थिए गाली

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कासँग फोनमा गालीगलौज गरेको आरोपमा अध्यक्ष यादवमाथि पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दियो ।
यस विषयमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीले अनुसन्धान चलिरहेको भन्दै टिप्पणी गर्न अस्वीकार गरिन् । “यो अनुसन्धानकै चरणमा रहेको विषय हो, अहिले केही बोल्न मिल्दैन,” उनले भनिन् ।
यादव र एसपी खड्काबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद झनै चुलिएको छ । अडियोमा यादवले एसपी खड्कालाई ‘को हो तिमीहरू?’, ‘तिमीहरू मधेशमा लुट्न आएको’, ‘तपाईंहरू लुटेरा हो’ जस्ता गम्भीर शब्द प्रयोग गरेका सुनिन्छ ।
अडियोमा एसपी खड्काले पनि प्रतिक्रिया दिँदै ‘कसलाई गाली गरेको ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । यादवले ‘ए एसपी, ए एसपी सुन’ भन्दै निरन्तर गाली गरिरहेका सुन्न सकिन्छ ।








