यो सरकारको पतन अनिवार्य छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारले मुलुकलाई राम्रोसँग अगाडि बढाउन असफल भएको बताएका हुन् ।
‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई हेर्दा यो सरकार जनमुखी होइन, जनविरोधी देखिन्छ,’ अध्यक्ष नेपालले भने, ‘सरकारले जनभावना बुझ्न सकेको छैन, जनचाहनाको सम्मान गर्न सकेको छैन। सही नीति लिन नसक्ने यो सरकार कुशासनको पक्षपोषक बनेको छ ।’
उनले वर्तमान सरकारले जनताको विश्वास जित्न नसक्ने स्पष्ट गर्दै सरकारलाई साथ दिन नसकिने बताए । ‘जनताको चाहना अनुसार परिणाम दिन सक्ने कुनै पनि सम्भावना छैन,’ उनले भने, ‘त्यसैले यस्तो सरकारलाई हामीले साथ दिन सक्दैनौं । यसको पतन अनिवार्य छ, खालि समयको पर्खाइ हो ।’
अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी बढ्दै गएको, बेरोजगारीको समस्या गहिरिँदै गएको र आम नागरिकको जीवन कष्टकर बन्दै गएको उल्लेख गरे । उनले वर्तमान सरकार आर्थिक सुधार, सुशासन र जनमुखी निर्णयबाट टाढा रहेको जिकिर गरे ।
उनले पार्टी कार्यकर्तालाई जनताबीच जान र जनचाहनाको प्रतिनिधित्व गर्दै सशक्त राजनीतिक विकल्प प्रस्तुत गर्न आह्वान गरे ।








