विद्याको नाममा एमाले फुटाउने षड्यन्त्र, राम्रा कामको विरोध गर्ने प्रवृत्ति मौलायो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम अनावश्यक रूपमा उछालेर पार्टीभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन् । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा यस्तो आरोप लगाएका हुन् ।

उनले यस्ता गतिविधिमार्फत पार्टीलाई कमजोर देखाउने र कार्यकर्तामा गलत सन्देश प्रवाह गर्ने षड्यन्त्र भइरहेको दाबी गरे । ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी/विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ,’ प्रधानमन्त्रीले भने, ‘उहाँ (विद्या भण्डारी) ले आफैँ केही भन्नुभएको छैन, तर अरूले उहाँको नाम अगाडि सारेर पार्टीमा भाँजो हाल्न खोजेका छन् ।’

उनले एमाले एक परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरूलाई सुझबुझपूर्ण तरिकाले समाधान गर्न सक्षम रहेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो मुख्य लक्ष्य देशबाट गरिबी हटाउने र नेपाललाई आधुनिक एवं विकसित राष्ट्र बनाउने रहेको दोहोर्‍याउँदै पार्टी अनेक उतारचढाव पार गर्दै अझ जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विकासमा अवरोध गर्ने प्रवृत्तिप्रति आक्रोश
प्रधानमन्त्री ओलीले देशमा राम्रो कामलाई रोक्ने र विकासमा अवरोध सिर्जना गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसप्रति कडा असन्तुष्टि व्यक्त गरे । सर्वोच्च अदालतले हालै ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर गरेको फैसलाको प्रसङ्ग जोड्दै उनले विकासविरोधी तत्वहरूले निरन्तर अवरोध सिर्जना गरिरहेको बताए । ‘नेपालमा अहिले एउटा माहोल बनेको छ, जहाँ केही तत्वहरू जमेर उजुरी हाल्न तम्सिन्छन्,’ उनले भने, ‘उनीहरूको उद्देश्य राम्रो काम हुन नदिने हो । मुद्दा हाल्ने, काम रोक्ने प्रवृत्तिले मुलुकको समग्र प्रगतिलाई नै अवरुद्ध बनाउने खतरा बढेको छ ।’

विकास निर्माणका काममा समेत मुद्दा हाल्ने प्रवृत्तिका कारण योजनाहरू ठप्प हुने अवस्था आएको उनको भनाइ थियो । ‘बाटो बनाउने काम सुरु हुनासाथ मुद्दा दर्ता भइहाल्छ,’ उनले भने, ‘काम रोक्न आदेश आउँछ तर फैसला आउन २-३ वर्ष लाग्छ। त्यतिबेलासम्म न मेसिन रहन्छ, न कामदार । यसले स्रोतको दुरुपयोग मात्र गर्दैन, कार्यान्वयन प्रक्रिया नै ठप्प बनाउँछ ।’ 

‘नयाँ शक्ति’ र सामाजिक सञ्जालको भ्रमप्रति सचेत रहन आग्रह
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई ‘नयाँ शक्ति’ भनेर चिनाउने केही समूहप्रति पनि कटाक्ष गरे । उनले त्यस्ता समूहले सहकारीलगायतका माध्यमबाट आर्थिक अनियमितता गरिसकेको र हल्ला र प्रचारको भरमा राजनीति गर्न खोजेको आरोप लगाए । ‘नयाँ नाममा आएका यस्ता शक्तिहरूको वास्तविकता जनतामाझ खुलिसकेको छ,’ उनले भने, ‘हल्लाले मात्र राजनीति चल्दैन । जनताले विश्वास गर्ने आधार ठोस काम र स्पष्ट दृष्टिकोण हो ।’

उनले सामाजिक सञ्जालमार्फत केही समूहले निराशा र भ्रम फैलाइरहेको भन्दै विदेशमा रहेका नेपालीहरूलाई त्यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गरे । ‘देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘तपाईंहरू विदेशमा भए पनि मातृभूमिको समृद्धिमा जोडिनुहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =