त्रिविमा लगाइएको ताला खोल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लगाइएको ताला तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता महेश भट्टराईद्वारा दायर गरिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले ताला खोल्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले त्रिवि उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय तथा सेवा आयोगमा जेठ १४ र जेठ ३० गतेदेखि लगाइएको तालाबन्दी तत्काल खोल्न निर्देशन दिएको हो ।

आदेशमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरलाई ताला खोल्न आवश्यक सुरक्षा तथा प्रशासनिक सहयोग गर्न भनिएको छ ।

त्रिविका कानुनी सल्लाहकार नारायण प्रसाद खनालका अनुसार, आदेशअनुसार सम्बन्धित निकायहरूले तत्कालै आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

त्रिविमा तालाबन्दी आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले जेठ ३० गतेदेखि थालेको हो। त्यसअघि जेठ १४ गते उपत्यकाका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीहरूले कार्यालयहरूमा तोडफोड गर्दै ताला लगाएका थिए ।

तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक कामकाज पूर्ण रूपमा ठप्प बनेको छ । त्रिविले आन्दोलनको समाधानका लागि प्राडा दिलीप पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले आन्दोलनरत पक्षसँग तीन चरण वार्ता गरे पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =