समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको बराबरी योगदान रहेको बताएकी छन् ।
आज काठमाडौँमा आयोजित ‘समाज रूपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी’ विषयक अन्तर्क्रियामा उनले नेपालका सबै खाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको उल्लेख गर्दै महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन सम्भव भएको बताइन् ।
महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाई सामाजिक रुपन्तरणमा अघि बढ्नुपर्ने र त्यसका लागि एक्लै नभई सँगसँगै यात्रा गर्नुपर्ने पनि उपसभामुख रानाको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मीको अत्यन्तै ठूलो योगदान रहेको र यो इतिहास मेट्न खोजे पनि कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छोड्ने बताए ।
डा विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपाली नाट्य लेखन, निर्देशन र चलचित्र अभिनयलगायत क्षेत्रमा महिला संलग्नता र प्रवृत्तिको चर्चा गरिन् ।
उनले मुक्तिको आकाङ्क्षाबिना नाटकमा प्रस्तुत महिलाको सक्रियता जमिनबिनाको उडानजस्तो बन्ने धारणा राखिन् ।
उनको कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा अशोक थापाले टिप्पणी गर्दै नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिए पनि त्यो पर्याप्त नभएको बताए ।
नृत्य विज्ञ डा लोकनाथ दुलालले सुरुआतमा मनोरञ्जन, धार्मिक, व्यवहारिक र ज्ञान गरी चार चरणमा विकसित भएको कला पछिल्लो समय फेरिँदै गएको बताए ।








