न्याय क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने गरी बजेट विनियोजन गरिएको छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएका छन् ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत अदालतप्रति जनआस्था र विश्वास बढाउने वातावरण सिर्जना गर्ने प्रयास भइरहेको पनि बताए । उनले न्याय प्रणालीलाई डिजिटल बनाउने क्रममा अनलाइन मुद्दा दर्ता, मुद्दाको अवस्था अनलाइनबाटै बुझ्ने तथा भिडियो कन्फरेन्समार्फत मुद्दामा बहस गर्ने प्रणाली लागू भइसकेको जानकारी गराए ।
उनले भने ‘न्याय छिटो, छरितो र पारदर्शी बनाउँदै सूचना प्रविधिको संस्थागत विकास र प्रभावकारी उपयोगमार्फत न्यायालयमाथि सबैको विश्वास र आस्था बढाउने वातावरण सिर्जना गर्ने कुरामा प्राथमिकता दिएका छौँ । न्याय निरूपण छिटो र छरितो बनाउने तथा प्रविधिमैत्री बनाउने र न्याय क्षेत्रलाई डिजिटलाइजेसन गर्ने कार्य गरेको जसमार्फत अनलाइन मुद्दा दर्ता प्रणाली र अनलाइबाटै मुद्दाको अवस्था बुझ्ने र भिडियो कन्फरेन्समार्फत मुद्दामा बहस गर्ने प्रणाली सुचारु भएको ब्यहोरा अवगत गराउन चाहन्छु । यसै विषयलाई प्राथमिकतामा राखेर न्यायपालिका र मन्त्रालयको बजेट विनियोजन भएको छ ।’
उनले न्यायपालिकाप्रति जनआस्था बढाउनेतर्फ सरकार गम्भीर रहेको पनि बताए ।








