कुलिङ पिरियडबारे काँग्रेसले भन्यो- विश्वासघात भयो, छानबिन होस्

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
उनले कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरूको धारणा रहेको र त्यही हिसाबले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानबिन हुनुपर्ने बताए ।
उनले भने ‘कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले दफावार पढ्नुभएन । विश्वासघात भयो । जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ । तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’
काँग्रेसले छानबिन गरी दोषीउपर कारबाही गर्न पनि माग गरेको छ ।








