दलित, वादी र पछाडि परेका वर्गका लागि छुट्टै विकास प्राधिकरण गठन गर्ने तयारीमा सरकार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित, वादी र पछाडि परेका वर्गको समावेशी विकासका लागि सरकारले छुट्टै विकास प्राधिकरण गठन गर्ने तयारी गरेको बताएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।

उनले सम्बद्ध कानुन र प्राधिकरण निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले राज्यका निकायहरूमा समावेशी तथा समानुपाती प्रतिनिधित्व सुनिश्चित गर्न सरकार गम्भीर रहेको समेत स्पष्ट पारे ।

उनले भने ‘पछिल्लो सरकारले दलित, वादी र पिछडिएका वर्गलाई समेटेर एउटा विकास प्राधिकरण बनाउने कुरा गरेको थियो । त्यसका लागि दलितसम्बन्धी कानुन र प्राधिकरण बनाउने विषय हाम्रो मन्त्रालयले रायको लागि कानुन मन्त्रालयमा पठाएको छ । अब छिट्टै कानुन मन्त्रालयबाट त्यो हाम्रो मन्त्रालयमा आउँछ । त्यसपछि हामी कानुन र आयोग बनाउने छौँ ।’

उनले संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय सरकारबिचको सहकार्य र समन्वयमा विकास निर्माणका कामहरु अगाडि बढाइने तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने समेत जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =