परम्परागत बजेटले मुलुकको समग्र विकास सम्भव छैन : सांसद बिष्ट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको समग्र विकासमा टेवा नपुर्याउने टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाए । उनले बजेटमार्फत विकासको आधुनिक मोडल अवलम्बन नगरेसम्म देशको समृद्धि सम्भव नभएको बताए ।
उनले मन्त्रालयगत विनियोजन समेत सन्तुलित नरहेको बताउँदै केही नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरिएको आरोप लगाए । ‘अर्थमन्त्रीज्यू, यो देशमा रहेका ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाट मात्रै मन्त्री बन्न सकिन्छ ?’ भनी प्रश्न गर्दै उनले प्रतिनिधिसभामै सत्तापक्षकै सांसदहरूले यस्तो कुरा उठाएको स्मरण गराए ।
सांसद बिष्टले सरकारको विकास योजनामा निरन्तरताको अभाव रहेको उल्लेख गरे । ‘राम्रो कामको सुरुवात भएको छ भने त्यसलाई निरन्तरता दिनुपर्छ कि रोक्नुपर्छ ? यो मुख्य प्रश्न हो अहिलेको,’ उनले भने ।
उनले तीन करोडभन्दा कमका योजना नराखिने भनिए पनि बजेटमा २० लाखको योजना समेत देखिएको भन्दै त्यसप्रति आपत्ति जनाए । साथै, बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह हावी भएको उनको आरोप छ ।








