कुलिङ पिरियडमा भएको चलखेलबारे छानविन हुनुपर्छ : रामहरि खतिवडा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा संसदमा प्रस्तुत हुँदाको शब्द फेरबदललाई संसदमाथिको गम्भीर प्रहारको रूपमा लिँदै तत्काल छानबिन हुनुपर्ने माग गरेका छन् ।
मंगलवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले सभामुख देवराज घिमिरेसँग पनि छानबिनका लागि आग्रह गरिसकेको जानकारी दिए । उनले भने, ‘हामीले जे कुरा उल्लेख गरेका थियौँ, त्यो दफा ४ अन्तर्गत निजामति वा अन्य सरकारी सेवाबाट अवकाश लिएका व्यक्तिलाई दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नदिनेसम्बन्धी मर्म थियो। तर त्यसको मुनि एउटा नयाँ दफा थपिएर सदनमा गएको छ । यस्तो गल्ती कानून बनाउने प्रक्रियामा कतै हुनै हुँदैन ।’
खतिवडाले यो गल्ती कसको कारण भयो भन्ने यकिन गर्न छानबिन आवश्यक भएको उल्लेख गर्दै दोषी जो भए पनि कारबाही हुनुपर्नेमा जोड दिए । ‘यो कसको गल्तीबाट भएको हो, उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘म आफैँमाथि पनि छ भने छानबिन होस्। दोषी म नै भएँ भने म पनि कारबाहीको दायरामा आउनेछु ।’
उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरूलाई समिति बैठकमा बोलाइएको भए पनि उनीहरू अनुपस्थित रहेको भन्दै असन्तोष पनि व्यक्त गरे ।
खतिवडाले अहिलेको अवस्थालाई हेर्दा समितिको बैठक अगाडि नबढ्ने निर्णय गरिएको जानकारी दिए । ‘आजै हामीले बैठक नबस्ने निर्णय गरेका छौँ,’ उनले भने ।
सरकारले फागुन २०८० मा संसदमा दर्ता गरेको विधेयकमा उल्लेख थियो— ‘संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’का पदमा सेवा निवृत्त भएको मितिदेखि दुई वर्षसम्म काम गर्न पाइँदैन ।
समितिबाट पारित हुँदा उक्त ‘बाहेक’ भन्ने शब्द नरहेको भए पनि प्रतिनिधिसभामा पेश गर्दा उक्त शब्द पुनः समावेश गरिएको पाइएपछि यसबारे विवाद चर्किएको हो ।








