नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता बढ्दो : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमिकहरूको उपस्थिति बढ्दो क्रममा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालको श्रम र पुँजी बजार दुवै संकुचनमा रहेको उल्लेख गरे । ‘पुँजी बजार गुञ्जायमान हुन सकेको छैन, श्रम बजार पनि हाम्रो अपेक्षाअनुसार बन्न सकेको छैन,’ उनले भने ।

उनका अनुसार, नेपाली श्रम बजारमा विदेशी श्रमिकहरूले क्रमशः आफ्नो प्रभाव बढाउँदै गएका छन्, जुन चिन्ताको विषय हो । ‘श्रम बजारमा आज नेपालीभन्दा अन्य देशका श्रमिकहरूको बाहुल्यता विस्तार हुँदै गएको छ,’ मन्त्री भण्डारीले स्पष्ट पारे ।

उनले यस अवस्थाको मुख्य कारण शिक्षा प्रणाली र श्रम बजारबीचको असन्तुलन रहेको बताए । ‘नेपालको श्रम बजारले जे खालको दक्ष जनशक्ति खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्योभन्दा फरक किसिमको उत्पादन गरिरहेको छ,’ उनले भने ।

उनले युवाहरूको शिक्षा तथा सीपमा गरिएको लगानी प्रभावकारी हुन नसकेकोतर्फ संकेत गर्दै थपे, ‘एक जना युवा झन्डै २० वर्षसम्मको अध्ययनपछि पनि श्रम बजारमा आफ्नो विवेक प्रयोग गर्न सक्दैनन् भने त्यो शिक्षा प्रणालीमाथि प्रश्न उठ्छ ।’

सरकारले यस समस्याको समाधानका लागि योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले “पढ्दै कमाउँदै” भन्ने नयाँ कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =