राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयो : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले देशको राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रहरुमा गम्भीर विचलन देखिएको टिप्पणी गरेका छन् ।

सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद शर्माले न्यायालयप्रति जनआस्थामा आएको गिरावट र समग्र समाजमा फैलिँदो विचार विहिनता प्रति चिन्ता व्यक्त गरे ।

बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गरिएको थियो । न्यायाधीश थापाले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै सांसद शर्माले सोधे– ‘विचलन देखिएको यो अवस्थालाई सच्याउने तपाईंको योजना के छ ?’

उनले समाज विचारविहीनताको अवस्थामा पुगिरहेको उल्लेख गर्दै त्यसले आम नागरिकमा निराशा पैदा गरिरहेको बताए । ‘हाम्रा प्रगतिशील दिशाबाट पछि हट्ने गरी घटनाहरू भइरहेका देखिन्छन्,’ शर्माको भनाइ छ ।

शर्माले समावेशी लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै प्रस्तावित न्यायाधीश थापाको सिफारिसप्रति सन्तोष पनि व्यक्त गरे । ‘लोकतन्त्र कुनै वर्ग वा जातिको मात्र हुँदैन, सबै वर्ग, जाति र लिङ्गको समावेशितामा आधारित हुनुपर्छ भन्ने मान्यता बोकेका कारण आज तपाईं सिफारिस हुनुभएकोमा म खुशी व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

न्यायिक क्षेत्रमा बढ्दो आलोचनासम्बन्धी टिप्पणी गर्दै उनले न्यायाधीशले गल्ती गर्नु नहुने तर जनसम्पर्क वा संवादसमेत नहोस् भन्नु उचित नहुने बताए । ‘न्यायाधीशहरू गल्ती गर्न मिल्दैन तर यसले उनीहरू कसैसँग बोल्नै नपाओस् भन्ने होइन,’ शर्माले भने ।

उनले समृद्ध र सुसूचित समाज निर्माणमा सबैको दायित्व रहेको उल्लेख गर्दै न्यायिक सुधारका पहलहरू थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =