रास्वपा र राप्रपालाई काँग्रेसले भन्यो- संसदमा गालीगलौज बन्द नभए प्रतिवादमा उत्रिन्छौँ

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद सुरु हुने बित्तिकै गालीगलौज गर्ने परम्पराको विकास हुँदै गएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आपत्ति जनाएका हुन् ।
संसदको कारबाही सुरु हुने बित्तिकै गालीगलौज गर्ने प्रवृत्तिका कारण संसदको मर्यादा गम्भीर रूपमा खलबलिएको भन्दै तत्काल सुधारको गर्नुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूलाई लक्षित गर्दै केही सांसदहरूले चोर, फटाहा र मानव बेचुवा जस्ता अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो कार्यले संसदीय मर्यादा कायम रहन नसक्ने बताए ।
उनले भिजिट भिसा प्रकरणको बारेमा संसद र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र समिति समेत गठन भइसकेको उल्लेख गरे ।
उनले भने ‘अहिले संसदमा नियमित रुपमा संसदको कारबाही सुरु भएपछि उठ्ने र दैनिक गालीगलौज गर्ने प्रक्रिया संसदभित्र आरम्भ भएको छ । यहाँ चोर भन्ने, फटाहा भन्ने र मानव बेचुवा भन्ने जुन प्रक्रिया आरम्भ भएको छ, यसलाई अन्त्य गर्नैपर्छ । र यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन । यो कुरा संसदको ध्यानाकर्षण भइसकेको विषय हो । सरकारको गम्भीर ध्यानाकर्षण भएर समिति बनिसकेको अवस्था हो । यसरी गाली गलौज गर्ने प्रक्रियाको अन्त्य नभए हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ ।’
अब पनि संसद सुरु हुने बित्तिकै गालीगलौज गर्ने प्रवृत्तिको अन्त्य नभए आफूहरू प्रतिवादमा उत्रिने उनको भनाइ छ ।








