एमालेलाई कसैले फुटाउन सक्दैन, पार्टीबाट त्यत्रो लाभ लिएकाहरू पार्टी फुटाउन लागे : ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले रक्तबीज झैँ भएको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले रक्तबीज झैँ भएकाले एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छेहरू एमालेमा जन्मिने बताए । एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको चेतावनी दिए ।
एमालेले जबज जपेर बस्ने नभई कार्यान्वयन गरिरहेको बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टीले दिएको सुविधाहरू लिएर पार्टी फुटाउन लागेको बताए । पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरूलाई लाज हुनुपर्दैन रु उनको प्रश्न छ ।
प्रधानमन्त्री ओलीले भने ‘नेकपा एमालेले सबै गलत प्रवृत्तिहरूलाई चिन्ने, तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने काम गर्दछ । त्यो सामर्थ्य नेकपा एमालेमा छ । यो रक्तबीज जस्तो छ । रक्तबीज एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यति धेरै रक्तबीजहरू जन्मिन्थे । यो त्यस्तै हो । यसलाई दबाएर, यसलाई फुटाउँछु भन्ने पनि कसैले सोच्यो भने सम्भव छैन । किनभने ठूलाठूला महारथीहरू, फुटाउनेहरू देखिए, ती सबै असफल भए । जननेता मदन भण्डारीले अघि सार्नुभएका विचारहरूको कार्यान्वयनको तीन दशक हो । हामी जबज जपेर बसेका छैनौँ, कार्यान्वयन गरेर बसेका छौँ । त्यसको विकास गरेर बसेका छौँ । त्यत्रो लाभ सुविधा लिएका मानिसहरु पार्टी सिद्ध्याउन लागे, शर्म हुनु पर्दैन रु त्यही पार्टीले के के बनायो, त्यही पार्टी सिद्ध्याउन लाग्ने, लाज हुनुपर्दैन तिनलाई रु’
प्रधानमन्त्री ओलीले नेकपा एमाले भकिम्लाको काठ जस्तो कमजोर नभएको बताए ।








