राज्य आफैं अनौपचारिक अर्थतन्त्रको उत्पादनकर्ता बनेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य आफैं अनौपचारिक अर्थतन्त्रको उत्पादनकर्ता बनेको गम्भीर टिप्पणी गरेका छन् ।

शुक्रवार राजधानीमा आयोजित ‘जनताको बहुदलीय जनवादको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकलाई आर्थिक रूपमा सबल नबनाई सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन नसकिने धारणा राखे ।

‘हाम्रो सम्पूर्ण कारोबारलाई जबसम्म हामी डिजिटलाइज गर्न सक्दैनौँ, तबसम्म सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने कुरामा चुनौती रहन्छ,’ पोखरेलले भने, ‘राज्य आफैं अनौपचारिक अर्थतन्त्रको उत्पादनकर्ता बनेको छ ।’

उनले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण आर्थिक क्रियाकलापलाई डिजिटल माध्यममा लैजानुपर्ने आवश्यकता औंल्याए । विद्युतीय कारोबारप्रति निजी तथा संगठित क्षेत्र नै अनिच्छुक देखिएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे ।

‘हाम्रो देश पछाडि किन परिरहेको छ भन्ने कुरा औपचारिक प्रक्रियामा नागरिकहरुको उदासीनता र राज्यको प्रभावकारी हस्तक्षेपको अभावका कारण हो,’ उनले भने, ‘अझ भन्ने हो भने राज्य स्वयम् अनौपचारिक अर्थतन्त्रलाई प्रश्रय दिने भूमिका खेलिरहेको छ ।’

महासचिव पोखरेलले मुलुक आर्थिक रूपमा सबल नभएसम्म सामाजिक सुरक्षाका कार्यक्रमहरू सफल र दीर्घकालीन रूपमा टिकाउ नहुने जिकिर गरे ।

‘सामाजिक सुरक्षा कार्यक्रम सफल बनाउन सरकारले प्रयास गरिरहेको छ,’ उनले थपे, ‘तर संरचनागत कमजोरी र प्रविधिको उपयोगमा भएको ढिलाइले कार्यान्वयनमा असर पारिरहेको छ ।’

कार्यक्रममा सहभागी विज्ञ तथा नेताहरूले पनि सामाजिक सुरक्षाको प्रभावकारिता सुनिश्चित गर्न आर्थिक सुधार, राजस्व प्रणाली सुदृढीकरण, र डिजिटल प्रविधिको विस्तार अपरिहार्य रहेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =