आजदेखि काठमाडौँमा तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट’ सुरु (तस्बिरहरू)

काठमाडौँ । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव आयोजना भएको छ । तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ गते (आज) देखि महोत्सव सुरु भएको हो ।
‘नेपाल म्याङ्गो फेस्ट’ यहि १५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिन्छ ।
काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना भएको यस महोत्सवको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका हुन् ।
महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिइन् ।
कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिएका छन् ।











