निजी र सार्वजनिक विद्यालयको पठनपाठन मोडल एकरूपको बनाउन आवश्यक : सांसद राई

काठमाडौँ । नेकपा (एमाल) का सांसद कालुराम राईले शिक्षा क्षेत्रको सुधारका लागि निजी र सार्वजनिक विद्यालयको पाठ्यक्रम, पठनपाठनको मोडल र व्यवस्थापन एकरूपको बनाउनु आवश्यक रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएका हुन् । उनले बालविकास शिक्षालाई तीन वर्षमा सीमित गर्ने प्रस्ताव पनि अघि सारे । उनले निजी विद्यालयहरूले शिक्षकहरूमाथिको शोषण गरिरहेको उल्लेख गर्दै सार्वजनिक र निजी विद्यालयहरूले दिने सेवा सुविधा समेत समान दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने ‘हामीले निजी विद्यालय र सार्वजनिक विद्यालयको पाठ्यक्रमलाई एक बनाइदिऔँ । हामीले जुन शिक्षाको मोडल बनाउँछौँ सार्वजनिक विद्यालयले पनि त्यही अपनाउनुपर्यो र निजीले पनि त्यही मोडेल अपनाउनुपर्यो । अर्को कुरा बालविकास शिक्षालाई हामीले तीन वर्षमै लैजाऊँ । शिक्षाको सुधार गर्नको लागि निजी र सार्वजनिक शिक्षाको कोर्स एउटै होस् । शिक्षकहरूले पाइरहेको सेवा सुविधा पनि सरकार सरह निजीले पनि समान दिनसक्नुपर्छ । निजी विद्यालयको आर्थिक स्रोत पनि पारदर्शी हुनुपर्छ । त्यसका लागि बैंकिङ माध्यमबाट मात्र हुने व्यवस्था गर्नुपर्छ । निजी विद्यालयहरूमा शिक्षकहरूमाथि भइरहेको शोषणलाई पनि नियमन गर्न जरुरी छ ।’

उनले निजी र सार्वजनिक विद्यालयबिचको असमानता हटाए मात्र शिक्षा प्रणालीमा गुणात्मक सुधार सम्भव हुनेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =