शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्याइनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानी, सरसफाइ तथा जलस्रोत मन्त्री प्रदीप यादवले शतप्रतिशत नेपाली नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले मुलुकको सम्पूर्ण जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पु¥याउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
“खानेपानीको सेवा गुणस्तर अभिवृद्धि गर्दै सबै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” मन्त्री यादवले भने, “खासगरी मानव विकास सूचकाङ्क कम भएका कर्णाली, सुदूरपश्चिम लगायतका प्रदेशहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।”
उनका अनुसार हालसम्म ९८ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानी सेवा प्राप्त गरिसकेको छ भने २८ प्रतिशतले मात्र सुरक्षित खानेपानी पाएका छन्। सन् २०३० भित्र दिगो विकास लक्ष्य न्तर्गत ९९ प्रतिशतमा आधारभूत र ९० प्रतिशतमा सुरक्षित खानेपानी पु¥याउनुपर्ने चुनौती रहेको उनले उल्लेख गरे ।
तराई–मधेशमा आर्सेनिक न्यूनीकरण कार्यक्रम
मन्त्री यादवका अनुसार तराई–मधेशमा २८० अधुरा खानेपानी आयोजनाको पहिचान भइसकेको छ । यी आयोजना संघीय सरकारमार्फत सम्पन्न गरिनेछ । “आर्सेनिक न्यूनीकरणमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको छ,” उनले स्पष्ट पारे ।
कर्णाली, कोशी, नारायणी, सुनकोशी–मरिन, चतारा, राप्ती जस्ता नदीबाट थोक पानी प्रशोधन गरी दीर्घकालीन रूपमा वितरण गर्ने योजना पनि अघि बढाइएको छ ।
धरान, काभ्रे र काठमाडौँका लागि विशेष योजना
धरानमा कोशी नदीबाट पानी ल्याउन एशियाली विकास बैंक (ब्म्द्य) सँग सम्झौताको प्रक्रिया अघि बढाइएको मन्त्री यादवले जानकारी दिए । “आगामी आर्थिक वर्षमा सम्झौता गरी निर्माण कार्य प्रारम्भ हुनेछ,” उनले भने ।
काभ्रेको रोशीमा प्रकोपबाट क्षति पुगेको आयोजना पुनःनिर्माणको लागि बजेट विनियोजन गरिएको छ ।
काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पानी वितरण सञ्जाल सबै क्षेत्रमा पु¥याइएको बताउँदै मन्त्री यादवले कुनैपनि क्षेत्रमा भेदभाव नगरिएको बताए । उपत्यकाभित्र भक्तपुर, कीर्तिपुर, जोरपाटी, पेप्सीकोला लगायत क्षेत्रमा पाइप विस्तारको बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए ।
स्रोत संरक्षण र पानी पुनःप्रयोगमा जोड
जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै गइरहेका बेला स्रोत संरक्षण, जलाधार व्यवस्थापन र पानी पुनःभरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए ।
“शिवपुरी निकुञ्जबाट बागमती नदीको पानी उपत्यकामा ल्याउने प्रयास भइरहेको छ तर आवश्यक अनुमति नपाउँदा कार्य अवरुद्ध भएको छ,” उनले भने ।
साथै, काठमाडौँका आन्तरिक स्रोतहरूको पहिचान भइरहेको र सिस्नेरी, महादेव खोला, तारकेश्वर लगायत स्थानमा नयाँ आयोजना निर्माणको तयारी भइरहेको पनि उनले जानकारी दिए ।








