एलएफपी लो भोल्टेज ब्याट्रीसहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालमा विद्युतीय गाडीको बजारमा अग्रणी बीवाईडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याकको नयाँ संस्करण बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरेको छ ।
बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि.ले आइतबार आयोजना गरेको कार्यक्रममा डल्फिन २०२५ सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार यो संस्करणले नेपालमा इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ उचाइमा पुर्याउनेछ ।
डल्फिन २०२५ मा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ । यसले परम्परागत लिड–एसिड ब्याट्री विस्थापन गर्दै हल्का, टिकाउ र विश्वसनीय विकल्प प्रदान गरेको कम्पनीको दाबी छ ।
यो ब्याट्री ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने र १५ वर्षसम्म टिक्ने विशेषता बोकेको छ । एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

३४० किमीको डब्लुएलटीपी रेन्ज
बीवाईडी डल्फिन २०२५ मा ई–प्लेटफर्म ३.० र ब्लेड ब्याट्री प्रविधि कायम राखिएको छ । गाडीले ३४० किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । डीसी फास्ट चार्जिङ सपोर्टका साथ गाडीको ब्याट्री ३० मिनेटमै ८०% सम्म चार्ज गर्न सकिन्छ ।
नयाँ विशेषताहरू
- नेपालका भू–परिस्थितिअनुसार स्पोर्टी सस्पेन्सन ट्युनिङ
- रातमा उत्कृष्ट दृश्यता दिने एलईडी हेडलाइट्स
- सुधारिएको एसी प्रणाली
- मोबाइल एनएफसी की, ब्लुटुथ की, प्यासेन्जर डोर स्विच
यस संस्करणमा नयाँ एटलान्टिस ग्रे रङ थपिएको छ, जससँगै अब डल्फिन अर्बन ग्रे, स्की ह्वाइट र एटलान्टिस ग्रे तीन रंगमा उपलब्ध छ ।
मूल्य र उपलब्धता
बीवाईडी डल्फिन २०२५ को मूल्य रु. ४१ लाख १५ हजार तोकिएको छ, जसमा ७ किलोवाटको होम चार्जर समेत समावेश गरिएको छ । गाडी हाल बीवाईडीका शोरूम र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध छ ।
नेपालमा डेलिभरी २४९० युनिट पुग्यो
कम्पनीका अनुसार बीवाईडी डल्फिनको विश्वव्यापी डेलिभरी ८ लाख ३० हजार युनिट पुगेको छ भने नेपालमा २४९०औं युनिट डेलिभर भइसकेको छ । डल्फिन हाल नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ । यसले प्रदर्शन, सहजता, र वातावरणमैत्री डिजाइनका कारण ग्राहकहरूलाई आकर्षित गरिरहेको छ ।
डल्फिन २०२५ सार्वजनिक कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डल्फिन लञ्च गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले हालसम्म करिब २ हजार ५ सयभन्दा बढी डल्फिन नेपाली सडकमा गुडिरहेको जानकारी गराइन् । ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं । बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन– यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो’ उनले भनिन् ।
यस्तै साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी डल्फिन एउटा गाडी मात्र नभई यो इलेक्ट्रिक जीवनशैलीको वाहक रहेको बताए ।
उनले हरेक नयाँ संस्करणमार्फत स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेको जिकिर गरे । ‘बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो । हरेक नयाँ संस्करणमार्फत हामी स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरु देखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका छौं’ उनले भने ।








