शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरे : प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको अपमान गरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले मन्त्री सिंहले गणेशमानको नाममा करिब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेर उनको सम्मान होइन, बदनाम गरेको टिप्पणी गरे ।

‘गणेशमानको नाममा करिब ५७ करोड बजेट ? कुनै उत्पादनमूलक काममा होइन, युवाहरूलाई रोजगारी दिने कार्यक्रममा होइन,’ ज्वालाले भने, ‘अनुत्पादक संरचनाहरू बनाउने नाममा गणेशमानलाई बदनाम गर्नुभयो तपाईँले। तपाईँ माग्नुस्, यो रोष्टमबाट ।’

उनले मन्त्री सिंहले सबैले सम्मान गर्ने गणेशमान र मङ्गलादेवीको अपमान गरेको दाबी गर्दै सार्वजनिक रूपमै माफी माग्नुपर्ने माग राखे ।

सांसद ज्वालाले शहरी विकास मन्त्रालयले आफ्ना रुचिका, आसेपासे र वरिपरिका व्यक्तिका लागि योजनाहरू थुपार्ने काम गरिरहेको आरोप पनि लगाए ।

‘शहरी विकास मन्त्रालयले परिभाषा अनुसारकै काम गरिरहेको छैन,’ उनले भने, ‘कहाँ–कहाँबाट घुमाएर पैसा हाल्न सकिन्छ भन्ने हिसाबले विभिन्न शीर्षकमा योजना थुपारिएको छ । यो मन्त्रालय भरौटेहरूलाई पाल्ने, पोस्ने र बिचौलियाहरूको कमाइ खाने भाँडो बनाइएको छ ।’

उनले शहरी विकास मन्त्रालयमा ज्यादती र बेथिति चरम अवस्थामा पुगेको जिकिर गर्दै त्यसको अन्त्य गर्न माग गरे ।

सांसद ज्वालाले मन्त्री सिंहमाथि थप कटाक्ष गर्दै भने, ‘स्वर्गीय पुष्पलालको नाममा ७० लाख विनियोजन गरेर काठमाडौंमा गाई जात्रा गर्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =