विदेशको नागरिकता लिइरहेकाहरूलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । उनले अरु कामहरूका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए ।

नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताए । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताए । ब्रिटिस गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने जिकिर गरे ।

सभापति देउवाले भने ‘जहाँसम्म गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ । यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिस गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ । ब्रिटिस गोरखाले पनि बेलायती सैनिक सरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो तर उनीहरुले मानेका छैनन् । निरन्तर नागरिकताको माग उठाउनु स्वाभाविक कुरा हो । त्यो दिने नदिने कुरा हाम्रो हातमा हुँदैन । उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरूका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ । अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरू दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’

सभापति देउवाले गोरखा सैनिकहरूको इतिहास गर्विलो रहेको बताए । उनले ब्रिटिस गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । नेपाल र बेलायतबिचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =