भिजिट भिसा प्रकरणमा रास्वपाको माग अनावश्यक : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएको माग अनावश्यक भएको टिप्पणी गरेका छन् ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले रास्वपाले उठाएको मुद्दा सैद्धान्तिक रूपमा उचित नभएको तर्क गरे । उनले यो विषयलाई रास्वपाले अनावश्यक रूपमा प्रतिष्ठाको विषय बनाएको आरोप लगाए ।
‘यो इस्यु नै होइन,’ उनले स्पष्ट रूपमा भने, ‘२२ वटै मन्त्रालयका कुनै न कुनै कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। के त्यसअनुसार सबै मन्त्रीहरूले राजीनामा दिनुपर्ने हुन्छ ?’
घिमिरेले अख्तियारले अनुसन्धान गरिरहेको मुद्दा अभियोजनपछि मात्र संलग्नताको यथार्थ थाहा हुनेसमेत बताए ।
उनले रास्वपामाथि कुनै प्रकारको निषेधको राजनीति नगरेको कांग्रेसको स्पष्ट नीति रहेको उल्लेख गर्दै भने, ‘हामी कसैलाई लखेट्ने, भित्तैमा पुर्याउने काम गर्दैनौं । ससम्मान सबैको अस्तित्व स्वीकार गर्छौं । तर, अहिले उठाइएको विषय रास्वपाको मूल एजेन्डा होइन, यो विषय नउठाउनु बेस हुन्थ्यो ।’
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको छ ।








