हुनेलाई हुने, नहुनेलाई नहुने भन्न सक्ने संस्कृतिको खाँचो छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा ‘हुनेलाई हुने र नहुनेलाई नहुने भन्न सक्ने’ संस्कृतिको विकास गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालद्वारा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले अहिलेको योजनागत अभ्यास माग केन्द्रित र आश्वासनमुखी भएको उल्लेख गरे ।
‘हामी योजना बनाउनभन्दा योजना माग्नमै व्यस्त छौं,’ मन्त्री पाण्डेले भने, ‘वडाध्यक्षले ल्याए पनि हुन्छ, भ्रातृ संस्थाका सदस्यले ल्याए पनि हुन्छ भन्ने परिपाटीले राम्रोभन्दा धेरै माग गर्नेलाई प्राथमिकता दिएको छ ।’
उनका अनुसार हचुवामा हुन्छ भन्ने संस्कृतिका कारण योजना असफल हुँदा प्रस्ताव ल्याउने व्यक्ति र आश्वासन दिने दुबै मुष्किलमा पर्ने अवस्था देखिएको छ ।
‘नहुने कामलाई हुँदैन भन्न सक्ने संस्कृति गलत होइन, त्यो त इमानदार अभ्यास हो,’ मन्त्री पाण्डेले जोड दिए ।
त्यस्तै, उनले नेपालमा रहेका सांस्कृतिक सम्पदा, प्रतिष्ठान र संरचनाको प्रभावकारी व्यवस्थापन नहुनुमा सरकारको समन्वय अभाव प्रमुख रहेको बताए ।
‘हामीसँग नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, ललितकला प्रतिष्ठान, नाचघर र संस्कृति मन्त्रालय छ,’ उहाँले भने, ‘तर तीबीच समन्वय छैन। तीन तहको सरकारबीच पनि न त भर्टिकल न त होरिजेन्टल समन्वय देखिन्छ ।’
विदेशी पर्यटकहरूले नेपालमा हिमालभन्दा पनि नेपालीहरूको हाँसो र आत्मीयता बढी मन पराउने गरेको उदाहरण दिँदै उनले पर्यटन र संस्कृतिलाई योजनाबद्ध रूपमा प्रस्तुत गर्न सके नेपाल विश्वसामु अझ प्रभावकारी रूपमा उभिन सक्ने विश्वास व्यक्त गरे ।








